न्युक्यासलमा बसोबास गर्ने हामी नेपाली साथी–भाइहरू सन् २०१८–१९ देखि नियमित रूपमा बिहान–बेलुका भेटेर फुटबल खेल्ने गर्थ्यौँ। सोही भेटघाटका क्रममा न्युक्यासलमा बढ्दै गइरहेको नेपाली समुदायलाई समेट्ने उद्देश्यले यस गतिविधिलाई औपचारिक रूपमा संस्थागत गरौँ भन्ने विषयमा प्रत्येक हप्ता छलफल हुँदै आएको थियो।
यसै क्रममा संस्था दर्ता गर्ने प्रस्तावसहित डम्बर रसाइलीज्यू र भानु प्रताप ढकालज्यूको अग्रसरतामा २३ जुन २०२१ का दिन टाउनहल होटलमा पहिलो भेटघाट तथा छलफल सम्पन्न भयो। उक्त भेलाबाट संस्था दर्ता प्रक्रिया अगाडि बढाउँदै न्युक्यासलमा बसोबास गरिरहेका बृहत्तर नेपाली समुदायलाई समेटेर नयाँ कार्यसमिति गठन गरी संस्था अघि बढाउने विषयमा छलफल गरियो।
त्यसको करिब एक हप्तापछि, २७ जुन २०२१ मा २९ जनाको उपस्थितिमा पहिलो खुला साधारण सभा सम्पन्न भयो। उक्त सभाबाट पूर्ण सहमतिमा बाबुराज कडरियाज्यूको नेतृत्वमा पहिलो कार्यसमिति गठन गरियो। तत्पश्चात संस्थाको औपचारिक दर्ता गरियो र डम्बर रसाइलीज्यू पहिलो सार्वजनिक अधिकारी नियुक्त हुनुभयो।
नेपाली भेषभूषा, भाषा र संस्कृतिको संरक्षण गर्दै यसलाई नयाँ पुस्तामा अर्थपूर्ण रूपमा हस्तान्तरण गर्ने तथा अन्य समुदायमा नेपाली पहिचान प्रवर्द्धन गर्ने उद्देश्यका साथ न्युक्यासलमा बसोबास गर्ने नेपालीहरूले सन् २०२१ मा ‘नेपलिज कम्युनिटी अफ न्युक्यासल’ (NCON) स्थापना गरेका हुन्। १७ जना सदस्यबाट सुरु गरिएको यस संस्थाको स्थापना तत्कालीन पदाधिकारी टोली—अध्यक्ष बाबुराज कडरिया, उपाध्यक्ष जिवलाल न्यौपाने, महासचिव वीरबहादुर राई, सचिव रोशन घिमिरे, कोषाध्यक्ष भीम विश्वकर्मा, सह–सचिव प्रवेश पौडेल तथा सह–कोषाध्यक्ष सुमित्रा गुरुङ लगायत सम्पूर्ण सदस्यहरूको नेतृत्वमा भएको हो। सोही कार्यकालमा ‘शब्दमाला नेपाली भाषा विद्यालय’ स्थापना भई हालसम्म निरन्तर पठन–पाठन सञ्चालनमा रहेको छ।
करिब ५,००० भन्दा बढी नेपालीहरूको बसोबास रहेको न्युक्यासलमा, २०२४–२०२६ को कार्यकालमा अध्यक्ष वीरबहादुर राई, उपाध्यक्ष रवीन्द्र श्रेष्ठ, महासचिव भवेश भट्टराई, सचिव सीता बनिया घर्ती, कोषाध्यक्ष सपना बनिया राई, सह–सचिव दिपेश अर्याल तथा सह–कोषाध्यक्ष बिनोद बुढाथोकी लगायत सम्पूर्ण कार्यसमिति, संरक्षक समिति (Patron Committee) र सल्लाहकार समिति (Advisory Committee) को नेतृत्वमा NCON ले Walk for Peace, तीज धमाका, जनैपूर्णिमा, खेलकुद प्रतियोगिता, चाडपर्वका सामुदायिक भेला, शैक्षिक कार्यक्रम तथा विभिन्न सामाजिक अभियानहरू सहित दर्जनौँ सांस्कृतिक, सामाजिक र शैक्षिक कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरेको छ।
आगामी दिनहरूमा पनि NCON ले यस्ता गतिविधिहरूलाई निरन्तरता दिँदै समुदाय, संस्कृति र नेपाली पहिचानलाई अझ सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्दछ।